नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्ण औशीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ ।
शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भव ‘आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति अर्थात् सन्तान कुसन्तान हुन सक्छन् तर आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ ।
द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थ कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि यो परम्परा चलेको हो ।
आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।
Comments
Post a Comment